काठमाडौँ । पत्रकारिता पेसालाई राजनीतिक दलबाट स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यता रहँदै आए पनि नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तीन पत्रकारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएसँगै पत्रकारको राजनीतिक मोह पुनः बहसमा आएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि सार्वजनिक गरिएको उम्मेदवारको प्रथम नामावलीमा पेसागत विषयगत क्लस्टरतर्फ तीन पत्रकार प्रतिस्पर्धामा देखिएका छन् । पार्टीले पहिलो पटक समेटेको पेसागत विषयगत क्लस्टरबाट उनीहरूले केन्द्रीय सदस्य बन्नका लागि उम्मेदवारी दिएका हुन् ।
पेसागत विषयगततर्फ खुला क्लस्टरमा प्रेस युनियनका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष समीरजंग शाह र प्रेस युनियनका बहालवाला अध्यक्ष शिवप्रसाद लम्साल उम्मेदवार बनेका छन् । खुलातर्फ पाँच केन्द्रीय सदस्यका लागि ४० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, महिलातर्फ दुई केन्द्रीय सदस्यका लागि चार जनाको उम्मेदवारी परेको छ । त्यसमा नेपाल पत्रकार महासंघकी पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारी पनि प्रतिस्पर्धामा छिन् । यससँगै पत्रकारिता क्षेत्रबाट तीन जना कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने दौडमा देखिएका छन् ।
पत्रकारिता पेसाको मूल मर्म नै सत्तापक्ष र प्रतिपक्ष दुवैप्रति प्रश्न उठाउँदै नागरिकलाई निष्पक्ष सूचना उपलब्ध गराउनु हो । तर, लामो समयदेखि नेपाली पत्रकारितामा देखिँदै आएको दलगत आबद्धता र राजनीतिक झुकाव कांग्रेस महाधिवेशनमा पत्रकारकै प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामार्फत फेरि सतहमा आएको छ । पत्रकारहरू नै सक्रिय रूपमा दलको नेतृत्वमा पुग्न प्रतिस्पर्धा गर्न थालेपछि ‘पत्रकारिता कि राजनीति ?’ भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।
राजनीतिक दलमा आबद्ध हुने वा सक्रिय राजनीति गर्ने अधिकार प्रत्येक नागरिकलाई भए पनि पत्रकारिताको व्यावसायिक आचारसंहिता, निष्पक्षता र विश्वसनीयतामाथि त्यसको प्रभाव कस्तो पर्छ भन्ने बहस भने अझै महत्वपूर्ण छ । कांग्रेस महाधिवेशनमा तीन पत्रकारको उम्मेदवारीले पत्रकारितामा देखिँदै आएको दलगत मोह र राजनीतिक आकांक्षालाई पुनः एकपटक छर्लंग पारेको छ ।






