भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रव्यापी रूपमा सञ्चालित ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत आगामी २० गतेदेखि विशेष टोली भक्तपुर आउने भएको छ।
उक्त अभियानको नेतृत्व गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा रास्वपा नेता असिम शाहसहित सांसदद्वय पुकार बम र रञ्जु दर्शना भक्तपुर आउने कार्यक्रम तय भएको छ। यस अभियान अन्तर्गत स्थानीय नागरिकका समस्या, गुनासा सुन्ने र पार्टीको आगामी रणनीतिक विषयमा अन्तरक्रिया गरी सांगठनिक गतिविधिहरूलाई थप चलायमान बनाउने मुख्य आकर्षण रहनेछन्।
रास्वपा चाँगुनारायण नगर समितिले भक्तपुर आगमनको यो अवसरलाई ऐतिहासिक बनाउन भव्य स्वागतको तयारी गरिरहेको छ। नगर समितिका सभापति राेशन थापाका अनुसार अतिथिहरूको स्वागतका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्र पारिएको छ भने स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूमा समेत यस अभियानलाई लिएर उच्च उत्साह देखिएको छ।
कार्यक्रमलाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न नगर समितिका विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीसमेत बाँडफाँड गर्ने तयारी रहेकाे थापाले बताए ।






