पानी आउनै बन्द भएको धारा भयो जिन्दगी,
आकाशबाट भुइँ झरेको तारा भयो जिन्दगी।
सँगै जिउँला, रमाउँला भन्ने थियो तिमीसँग,
तर आज त्रिशूलीको किनारा भयो जिन्दगी।
भाग्य खोज्न निस्कँदा हराएको मान्छे म,
हारेपछि फेरि उठ्न डराएको मान्छे म।
आफन्तका दुर्वचनले कोमल मुटु घोचेपछि,
हाँस्नभन्दा रुन मन पराएको मान्छे म।
गएपछि फर्किएर कसलाई आउनु छ र?
भयो, भयो, यहाँभन्दा के नै पाउनु छ र?
थप्पड मारी–मारी कति सिकाउँछस् ए जिन्दगी?
हामीलाई कुनचाहिँ युग–युग बिताउनु छ र?
मुटुमा एउटा, सिउँदोमा अर्को सजाउनु गलत हो,
कसैको आँखामा आँखा घुलाएर लजाउनु गलत हो।
श्रीमती घरमा व्रत बसिरहेकी छन् बिचरा,
श्रीमान् एक्लै–एक्लै मन्दिर गई घण्टी बजाउनु गलत हो।
श्रीराम रानाभाट हाल युएई






