वीरगञ्ज । नेपाल संघीय समाजवादी पार्टी पर्सा जिल्ला कमिटीको बैठक वीरगञ्जस्थित होटल जय नेपालमा सम्पन्न भएको छ। बैठकले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै आगामी पुस २३ गते वीरगञ्जमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।
जिल्ला अध्यक्ष रियाज अहमदको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी र मधेश प्रदेश सभा सदस्य तथा पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री बिमला अन्सारीको विशेष उपस्थिति रहेको थियो।
बैठकमा पार्टी बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य इन्जिनियर रागीव हुसेन, केन्द्रीय सदस्य शेख नसिर, केन्द्रीय सदस्य मुफ्ती मैनुद्दिन तथा बारा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कलामुद्दिन हवाडी लगायतका नेताहरूको सहभागिता रहेको थियो।
संगठन विस्तारलाई अभियानका रूपमा अघि बढाउने
बैठकले विगतमा जिल्लामा पार्टीले गरेका राजनीतिक तथा सांगठनिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा र संगठन विस्तारको ठोस योजना तय गरेको छ।
निर्णयअनुसार पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय कमिटी गठन गर्ने, जिल्लाका सबै स्थानीय तहमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कमिटी निर्माण गर्ने र जिल्लाभरिका सबै वडामा वडा कमिटी गठन गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी पार्टीको साधारण सदस्यता तथा सक्रिय सदस्यता व्यापक रूपमा वितरण गर्ने निर्णय गर्दै जनताको घरदैलोसम्म पार्टीको संगठन र राजनीतिक विचार पुर्याउने अभियानलाई तीव्रता दिने बैठकले निर्णय गरेको छ।
पार्टीलाई सीमित राजनीतिक गतिविधिमा मात्र केन्द्रित नराखी जनताको दैनिक जीवनसँग जोडिएका समस्या, अधिकार र सरोकारका विषयमा प्रत्यक्ष रूपमा हस्तक्षेप गर्ने जनमुखी संगठनका रूपमा विकास गर्ने बैठकको निष्कर्ष छ।
वीरगञ्जमा जिल्ला पार्टी कार्यालय सञ्चालन गरिने
बैठकले पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पार्टीको जिल्ला कार्यालय सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
पार्टी कार्यालयमार्फत जिल्लाभरका सांगठनिक गतिविधिलाई व्यवस्थित बनाउनुका साथै जनताका दैनिक समस्या तथा गुनासाहरूको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने र जनताको आवाजलाई संगठित रूपमा उठाउने उद्देश्य राखिएको पार्टीले जनाएको छ।
‘देश गम्भीर संकटको अवस्थामा छ’
बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मुलुक अहिले अत्यन्तै संवेदनशील र निर्णायक मोडमा पुगेको बताउनुभयो।
उहाँले नेपाली जनताले दशकौँको संघर्षबाट प्राप्त गरेका राजनीतिक उपलब्धि, संघीयता, समावेशिता, लोकतान्त्रिक गणतन्त्र तथा जनताका मौलिक अधिकारहरू कमजोर पार्ने खतरा देखिएको भन्दै सम्पूर्ण लोकतान्त्रिक तथा परिवर्तनकामी शक्तिहरू सचेत र संगठित हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष अन्सारीले नेपाल संघीय समाजवादी पार्टी उत्पीडित, उपेक्षित तथा अधिकारबाट वञ्चित जनताको राजनीतिक आवाज भएकाले पार्टीलाई जनताको घरदैलोसम्म पुर्याउनुपर्ने बताउनुभयो।
उहाँले पार्टी संगठनलाई कागजमा मात्र सीमित नराखी गाउँ, टोल र बस्ती तहसम्म पुर्याएर जनताको सुख–दुःखमा साथ दिने र जनताको अधिकारका लागि संघर्ष गर्ने सशक्त जनसंगठनका रूपमा विकास गर्न जिल्ला कमिटीलाई निर्देशन दिनुभयो।
‘जनतामाथि लादिएको सरकार स्वीकार्य हुँदैन’
अध्यक्ष अन्सारीले वर्तमान सरकारको गठन र कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै संविधान र लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
उहाँले वर्तमान सरकार नेपाली जनताको हित, राष्ट्रिय हित तथा संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत अघि बढ्ने खतरा देखिएको बताउँदै आम नागरिकलाई सजग र सचेत रहन आह्वान गर्नुभयो।
उहाँको भनाइ थियो, “संविधान र लोकतान्त्रिक प्रक्रियालाई मिचेर नेपाली जनतामाथि कुनै पनि सरकार लादिनु स्वीकार्य हुँदैन। जनताको अधिकारमाथि प्रहार हुने कुनै पनि प्रयासको जनस्तरबाट प्रतिकार हुनुपर्छ।”
अन्सारीले लोकतन्त्रको रक्षा केवल राजनीतिक दलको जिम्मेवारी नभई सम्पूर्ण नेपाली जनताको साझा दायित्व भएको बताउँदै संविधान, संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतालाई सचेत र संगठित हुन आह्वान गर्नुभयो।
जिल्ला अधिवेशनलाई संगठन सुदृढीकरणको अवसर बनाउने
बैठकले आगामी पुस २३ गते वीरगञ्जमा आयोजना हुने जिल्ला अधिवेशनलाई पार्टीको संगठनात्मक पुनर्गठन, राजनीतिक वैचारिक स्पष्टता र जनआधारित संगठन निर्माणको महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने निर्णय गरेको छ।
पर्सामा पार्टीको संगठनलाई निर्वाचन क्षेत्रदेखि पालिका, वडा, टोल र जनताको घरदैलोसम्म विस्तार गर्दै जनताको अधिकार, सामाजिक न्याय, समानता, संघीयता र समावेशी लोकतान्त्रिक गणतन्त्रका पक्षमा सशक्त राजनीतिक अभियान सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ।






