काठमाडौँ । नेपाल र भारतबीच आर्थिक सहकार्यका नयाँ सम्भावना पहिल्याउने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तासँगै व्यापार, लगानी, औद्योगिक सहकार्य र विकास अर्थनीतिका विषयमा छलफल हुने भएको छ।
भ्रमणको पहिलो दिन बिहीबार अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध, सहकार्यका सम्भावित क्षेत्र तथा नेपालको विकास प्राथमिकताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। विपद्पछिको पुनर्निर्माणलाई गति दिनुपर्ने अवस्थामा भ्रमणलाई आर्थिक सहकार्य विस्तारका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार भ्रमणको मुख्य उद्देश्य विपद्पछिको पुनर्निर्माणलगायत नेपाल–भारतबीचका आर्थिक, राजनीतिक तथा कूटनीतिक विषयमा सहकार्यका सम्भावना अघि बढाउनु हो। भ्रमणका क्रममा भारतसँग व्यापार तथा लगानीका अवसर विस्तार, औद्योगिक सहकार्य र नेपालको विकास प्रक्रियामा थप साझेदारीका विषयमा छलफल हुनेछन्।
भ्रमणको दोस्रो दिन वाग्लेले पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा सहभागिता जनाउनेछन्। त्यसपछि उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। सोही दिन व्यापार तथा आर्थिक सम्बन्धसँग जोडिएका भारतीय सरोकारवालासँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ।

भारत भ्रमणका क्रममा वाग्लेले भारतीय निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्ने अवसरसमेत पाउनेछन्। शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्समा हुने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी हुँदै उनले नेपालको आर्थिक नीति, विकासका अनुभव तथा चुनौतीबारे धारणा राख्नेछन्।
तीनदिने भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी छन्। अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।









