चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै मुग्लिन–नारायणगढ सडकखण्ड अब पूर्णरूपमा सञ्चालनमा रहने भएको छ। यसअघि तुइन खोलामा भइरहेको भीर स्थिरीकरणको कामका कारण सडकखण्ड आंशिक रूपमा बन्द गरिएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा रहने जनाएको छ। कार्यालयले यात्रु तथा सवारीसाधनलाई सहज रूपमा आवतजावत गर्न सकिने जानकारी दिएको हो।

कार्यालयका अनुसार तुइन खोलामा भइरहेको Slope Stabilization (भीर स्थिरीकरण) कार्यका लागि यसअघि निश्चित समय सडक आंशिक रूपमा बन्द गर्ने व्यवस्था गरिएको थियो। कृष्णभीरमा सडक अवरुद्ध भएपछि सो कार्यलाई प्राथमिकताका साथ व्यवस्थापन गरिएको थियो।
कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा भइरहेको भीर स्थिरीकरणको काम हाललाई स्थगित गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। त्यससँगै सडकखण्डमा सवारी आवागमनमा लगाइएको आंशिक बन्देज पनि हटाइएको हो।

सडक पूर्णरूपमा सञ्चालनमा आएपछि मुग्लिन–नारायणगढ सडक हुँदै यात्रा गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ। कार्यालयले सडकको अवस्था तथा निर्माण कार्यअनुसार आवश्यक सूचना समय–समयमा सार्वजनिक गर्ने जनाएको छ।









