कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन बढेको छ । गत असोज महिनामा मात्रै ३२ हजार ९६३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख डा. रविन कडरियाका अनुसार असोजमा भ्रमण गर्ने पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ जना रहेका छन् । गत वर्ष असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष गत वर्षको तुलनामा दुई हजार ४१६ पर्यटक बढी आएका हुन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामध्ये असोजमा सबैभन्दा बढी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन् । भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । असोज र कात्तिकलाई मुख्य पर्यटकीय यामका रूपमा लिइने भएकाले यस अवधिमा पदयात्रीको चहलपहल बढ्ने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए । विशेषगरी दसैँ र तिहारको बीचमा पदयात्रामा निस्कने पर्यटकको सङ्ख्या बढी हुने गरेको उनको भनाइ छ ।
शरद ऋतु पदयात्राका लागि अनुकूल मानिने भएकाले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ तथा म्याग्दीको घोडेपानीलगायतका गन्तव्यमा पर्यटकको आकर्षण बढ्ने गरेको छ । प्राकृतिक सौन्दर्य, हिमाली जनजीवन, जैविक विविधता, स्थानीय संस्कृति र मनोरम हिमशृङ्खलाले गर्दा अन्नपूर्ण क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
करिब सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहअन्तर्गत ८७ वडा समेटिएका छन् । यी जिल्लाका विभिन्न मार्गबाट छोटो, मध्यम र लामो दूरीका पदयात्रा गर्न सकिन्छ । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग हुँदै यस क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या भने उक्त तथ्याङ्कमा समावेश हुँदैन । पर्यटकीय पूर्वाधार, स्थानीय आतिथ्यता र विविध गन्तव्यका कारण अन्नपूर्ण चक्रीय पदमार्ग नेपालको प्रमुख पदयात्रा गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।






