चितवन । रसुवा, नुवाकोट तथा धादिङका बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि चितवनका ख्रीष्टियन चर्चहरू सेवामा जुटेका छन्। चितवन महानगरीय ख्रीष्टिय समाजमा आबद्ध विभिन्न चर्चहरूले बाढीपीडितको सहयोगका लागि भेटी सङ्कलन गरी आर्थिक सहयोग गरेका हुन्।
समाजमा आबद्ध चर्चहरूले सामूहिक रूपमा सङ्कलन गरेको ४ लाख ७२ हजार १६२ रुपैयाँ बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले चर्चहरूले आफ्ना मण्डलीमा भेटी सङ्कलन अभियान सञ्चालन गरेका थिए। सङ्कलित रकम सरकारी राहत संयन्त्रमार्फत प्रभावितसम्म पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
चितवन महानगरीय ख्रीष्टिय समाजमा आबद्ध चर्चहरूले बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकको साथमा उभिनु मानवीय तथा सामाजिक दायित्व भएको बताएका छन्। राहत तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग जुटाउन आफूहरू निरन्तर सक्रिय रहने उनीहरूको भनाइ छ।

चर्चहरूले सरकारको एकद्वार राहत प्रणालीलाई समेत मध्यनजर गर्दै सङ्कलित रकम सरकारी कोषमा जम्मा गरेका हुन्। यसबाट राहत वितरणमा दोहोरोपन नहुने र उपलब्ध स्रोतलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्र तथा परिवारसम्म पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।
चितवनका ख्रीष्टियन चर्चहरूले आगामी दिनमा पनि विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएका छन्। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारको दुःखमा साथ दिँदै मानवीय सेवाका कार्यमा थप सक्रिय हुने उनीहरूको प्रतिबद्धता छ।









