भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने केन्द्रीय समितिको निर्णयसँगै भक्तपुरमा महाधिवेशन केन्द्रित गतिविधि तीव्र हुन थालेका छन्। यही क्रममा भदौ २३ गते भक्तपुर क्षेत्र नं. १ का कांग्रेस नेता तथा कार्यकर्ताबीच जीवन खत्रीको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीको आगामी महाधिवेशन, संगठन सुदृढीकरण, पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणाम तथा कांग्रेसभित्र देखिएको अन्तरद्वन्द्वलगायत विषयमा छलफल भएको बताइएको छ।


उक्त कार्यक्रम भने नेपाली कांग्रेस भक्तपुरको आधिकारिक कार्यक्रम भएको कांग्रेस युवा नेता तथा गत प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–१ का उम्मेदवार किरण न्यौपानेले बताएका छन्। पार्टीको औपचारिक संरचनाबाट पछिल्लो राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र आगामी महाधिवेशनबारे कार्यकर्ताबीच बहस आवश्यक रहेको उनको भनाइ थियाे।
यसैबीच, भक्तपुर कांग्रेसमा महाधिवेशन केन्द्रित गतिविधि एउटै धारमा सीमित नरहेको देखिएको छ। आज भदौ २४ गते पार्टी नेता शशांक कोइरालाको संयोजकत्वमा रहेको अर्को समूहले भक्तपुरस्थित हेरिटेजमा कार्यक्रम आयोजना गर्दै छ। तर, उक्त कार्यक्रम भने पार्टीको औपचारिक कार्यक्रम नभई समूहगत रूपमा आयोजना गरिएको कार्यक्रम भएको कांग्रेसकै नेताहरूले बताएका छन्। यसरी छोटो समयको अन्तरालमा फरक–फरक समूहबाट कार्यक्रम आयोजना हुनुले भक्तपुर कांग्रेसभित्र महाधिवेशनलाई लिएर बढ्दै गएको आन्तरिक ध्रुवीकरणलाई थप स्पष्ट पारेको छ।


छलफलका क्रममा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले व्यहोरेको कमजोर परिणामबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको धारणा नेताहरूले राखेका थिए। निर्वाचनमा पार्टीको सिट संख्या घट्नुका पछाडि संगठन परिचालनको कमजोरी, जनतासँगको सम्बन्धमा आएको दूरी तथा नेतृत्वको कार्यशैलीलगायत विषय जिम्मेवार रहेको भन्दै अब आत्मसमीक्षा गर्नुपर्ने आवाज उठेको थियो। विशेषगरी पार्टी नेतृत्वले निर्वाचनका क्रममा निर्वाह गरेको भूमिकाबारे पनि कार्यकर्ताबीच प्रश्न उठ्दै आएको छ।
त्यसक्रममा महामन्त्री गगन थापाले निर्वाचनमा निर्वाह गरेको भूमिका भने प्रशंसनीय रहेको धारणा नेताहरूले व्यक्त गरेका थिए। कठिन परिस्थितिमा संगठन र चुनावी अभियानमा उनको सक्रियतालाई सकारात्मक रूपमा लिँदै युवा पुस्ताको नेतृत्व र भूमिकालाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको थियो। अर्कोतर्फ, सभापति शेरबहादुर देउवाको नेतृत्व तथा निर्वाचनमा देखिएको जिम्मेवारीबोधको कमीका कारण कांग्रेसको सिट संख्यामा ह्रास आएको भन्दै नेतृत्वको आलोचना र गम्भीर समीक्षा आवश्यक रहेको धारणा पनि छलफलमा उठेको बताइएको छ।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा भक्तपुरमा देखिएको फरक–फरक समूहका गतिविधिले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र ध्रुवीकरण सतहमा ल्याएको छ। नेताहरूले भने महाधिवेशनलाई केवल नेतृत्व चयनको अवसरका रूपमा नभई संगठन पुनर्निर्माण, आन्तरिक विवाद समाधान र जनतामाझ कांग्रेसको गुमेको विश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। भक्तपुरमा लगातार भइरहेका यस्ता भेलाले आगामी महाधिवेशनमा स्थानीय तहदेखि नै नेतृत्व र नीतिबारे हुने प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।










