भक्तपुर । विनाशकारी बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूले सहयोग अभियानलाई निरन्तरता दिइरहेका छन्। विपद्को समयमा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले लायन्स क्लब अफ दुवाकोट भक्तपुरले पनि आर्थिक सहयोग गरेको छ।
क्लबले बाढीबाट प्रभावित नागरिकका लागि रु. ३८ हजार ४१० आर्थिक सहयोग उपलब्ध गराएको हो। बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक आवश्यकताका सामग्री गुमाएका परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको क्लबले जनाएको छ।

लायन्स क्लब अफ दुवाकोट भक्तपुरका तर्फबाट गरिएको सहयोगले विपद्को समयमा मानवीय सेवाको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ। क्लबले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
क्लबका सिबहरि केसीका अनुसार बाढीपीडितको पीडामा केही भए पनि मलम लगाउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको हो। उनले विपद्को समयमा सबै पक्षले आफ्नो क्षमताअनुसार सहयोग गर्दै प्रभावित परिवारको पुनःस्थापना र राहत कार्यमा हातेमालो गर्नुपर्ने बताए।










