काठमाडौं । रसुवा सहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको हो। बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले समेत मानवीय सहयोगस्वरूप २१ लाख रुपैयाँ योगदान गरेका छन्। कम्पनीको संस्थागत सहयोग र सञ्चालक तथा कर्मचारीहरूको व्यक्तिगत योगदान गरी कुल ७२ लाख रुपैयाँको सहयोग जुटाइएको हो।
कुल ७२ लाख रुपैयाँको एकमुस्ट रकमको चेक सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ। चेक हस्तान्तरणमार्फत कम्पनीले विपद्को समयमा राज्यको राहत तथा पुनर्निर्माण अभियानमा निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने सन्देश दिएको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संघसंस्था, निजी क्षेत्र र नागरिकबाट सहयोग जुटिरहेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको यो सहयोगले विपद्पछिको राहत तथा पुनर्निर्माण कार्यमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।









