काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका चार जलविद्युत् आयोजनामा क्षति पुगेपछि वाणिज्य बैंकहरूको करिब साढे ६ अर्ब रुपैयाँ कर्जा लगानी जोखिममा परेको छ। नेपाल बैंकर्स संघको प्रारम्भिक अध्ययनअनुसार बाढीबाट बैंकहरूको कर्जा लगानी रहेका मैलुङ खोला, लाङटाङ खोला, त्रिशूली र रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको हो।
संघका अनुसार रसुवाको ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएको छ। उक्त आयोजनामा एनएमबी बैंकको नेतृत्वमा २५ करोड ८० लाख रुपैयाँ कन्सोर्टियम कर्जा लगानी रहेको छ। बाढीका कारण आयोजनाको विद्युत्गृहमा समेत ठूलो क्षति पुगेको विवरण सार्वजनिक भएको छ।

त्यस्तै, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना पनि बाढीबाट क्षतिग्रस्त भएको छ। उक्त आयोजनामा विभिन्न बैंकहरूको २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी रहेको छ। यसको कन्सोर्टियम कर्जाको नेतृत्व लक्ष्मी सनराइज बैंकले गरेको संघले जनाएको छ।
बाढीको प्रभावबाट नुवाकोटको ३७ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना पनि अछुतो रहन सकेन। उक्त आयोजनामा नबिल बैंकको ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी रहेको छ। त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ, जहाँ नबिल बैंकको ४९ करोड ८० लाख रुपैयाँ लगानी रहेको संघले जनाएको छ।

बैंकर्स संघका अनुसार यी आयोजनामा एकभन्दा बढी बैंकको लगानी रहेकाले कुन बैंकको कति कर्जा जोखिममा परेको हो भन्ने विस्तृत तथ्यांक अझै यकिन भइसकेको छैन। रसुवा, नुवाकोट र धादिङमा बैंकहरूको लगानी रहेका आठ जलविद्युत् आयोजनामध्ये ठूला चार आयोजनामा बाढीले प्रत्यक्ष क्षति पुर्याएको प्रारम्भिक अध्ययनले देखाएको छ। प्राकृतिक विपत्तिका कारण जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानी जोखिम बढेपछि आगामी दिनमा यस क्षेत्रमा कर्जा प्रवाहबारे थप सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।









