काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा पछिल्लो समय भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधन तथा भौतिक क्षतिबारे छलफल भएको हो।
भेटका क्रममा चिनियाँ राजदूत माओ मिङले भोटेकोसी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा चीन नेपालसँगै रहेको बताउनुभयो। उहाँले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभयो।

राजदूत मिङले विपद्पछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो। आवश्यकताअनुसार आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ थियो।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्का समयमा चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।

लामिछानेले आगामी दिनमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा पुनर्निर्माणका क्षेत्रमा नेपाल र चीनबीच थप सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहयोगलाई अझ विस्तार गर्न आग्रह गर्नुभयो। भेटमा पछिल्लो विपद्को अवस्था र राहत, उद्धार तथा पुनर्निर्माणका विषयमा समेत छलफल भएको जनाइएको छ।









