हेटाैंडा। राजनीतिक, सामाजिक तथा प्राकृतिक विपद्को घडीमा मानवीय सहायता प्रदान गर्ने उद्देश्यले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुर शाखाले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोगको घोषणा गरेको छ। हेटौंडामा आयोजित कार्यक्रममार्फत महासंघले प्रभावित परिवारको राहत तथा उद्धारका लागि रु. ३ लाख सहयोग गर्ने निर्णय सार्वजनिक गरेको हो।
महासंघका मकवानपुर शाखा अध्यक्ष नवराज घलानले विपद्को यस कठिन समयमा पीडित नागरिकलाई मल्हम पट्टी लगाउन र साथ दिन सानाे भएपनि आर्थिक सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। संकटको घडीमा सानो सहयोगले पनि ठूलो राहत पुग्ने विश्वास शाखाले लिएको छ।

जिल्ला अध्यक्ष घलानका अनुसार बाढीबाट अति प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य राहत सामग्री उपलब्ध गराउन उक्त रकम प्रयोग गरिनेछ। उनले प्राकृतिक विपद्का बेला जात, धर्म, लिङ्ग र समुदायभन्दा माथि उठेर मानवीय सेवामा जुट्नु सबैको साझा कर्तव्य भएको स्पष्ट पारे।
रसुवामा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाले सहयोग गरिरहेका बेला महासंघ मकवानपुर शाखाले पनि यो परोपकारी कदम चालेको हो।

विशेष गरी, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रीय कार्यालयले आफ्ना मातहतका सबै मण्डली तथा धार्मिक-सामाजिक संस्थाहरूलाई आर्थिक सहायता र राहत सामग्रीमार्फत राज्यलाई सहयोग पुर्याउन विशेष निर्देशन जारी गरेको थियो। सोही केन्द्रीय निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै मकवानपुर जिल्ला शाखाले यो सहयोग रकम उपलब्ध गराएको अध्यक्ष घलानले बताए।
महासंघले आगामी दिनमा पनि परिस्थिति र आवश्यकताअनुसार विपद् प्रभावित क्षेत्रमा नागरिकको जीवनरक्षाका लागि निरन्तर सहयोग, समन्वय र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।









