परासी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नवलपरासी ख्रीष्टियन समाजले ४ लाख ६८ हजार ९२० रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते रसुवा, नुवाकोट, त्रिशूली, धादिङलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि समाजले आर्थिक सहयोग संकलन गरेको हो। समाजले जिल्लाका विभिन्न चर्च तथा मण्डलीमा आबद्ध सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरेको जनाएको छ।

संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक, परासी शाखामार्फत ४ लाख ६८ हजार ९२० रुपैयाँ दाखिला गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई समेत गराइएको बताइएको छ। विपद्को समयमा राज्यको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत रूपमा उक्त रकम उपलब्ध गराइएको समाजको भनाइ छ।
नवलपरासी ख्रीष्टियन समाजका अध्यक्ष पास्टर शुभास जबालीले बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरूको राहत र पुनःस्थापनामा आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको बताए। उनका अनुसार विपद्को समयमा धार्मिक तथा सामाजिक संस्थाहरूले मानवीय सेवाको भावनासहित राज्यसँग सहकार्य गर्नुपर्ने आवश्यकता छ।

समाजका सचिव पास्टर शद्रक तामाङले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विपद्को पीडामा रहेका नागरिकलाई राहत उपलब्ध गराउने कार्यमा सबै पक्षले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रबाट राहत तथा आर्थिक सहयोग जुटिरहेका बेला नवलपरासी ख्रीष्टियन समाजको यो सहयोगले विपद्मा धार्मिक तथा सामाजिक संस्थाहरूको मानवीय भूमिका र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।









