रसुवा । बाढीबाट प्रभावित रसुवाको बेत्रावती र स्याफ्रुबेँसी क्षेत्रमा सुन्दरढोका साथी सेवाको राहत टोली पुगेको छ। टोलीले विपद्बाट प्रभावित तथा तत्काल सहयोग आवश्यक भएका परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्री र सरसफाइका किट वितरण गरेको जनाएको छ। संस्थाका अनुसार प्रभावित क्षेत्रको अवस्था अझै अत्यन्तै गम्भीर रहेको छ।
राहत टोलीले प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाए पनि सरकारको एकद्वार प्रणालीका कारण निर्धारित मेडिकल क्याम्प सञ्चालन गर्न नसकिएको जनाएको छ। राहत तथा उद्धार कार्यको समन्वयमा नेपाल सेना विशेष रूपमा अग्रपंक्तिमा रहेकाले सोही प्रणालीअनुसार काम गर्नुपरेको संस्थाले जनाएको छ।

यद्यपि, सुन्दरढोका साथी सेवाको मेडिकल टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे महत्वपूर्ण मूल्याङ्कन गरेको छ। टोलीले स्थानीय समुदायका प्रमुख आवश्यकता पहिचान गर्नुका साथै आगामी दिनमा थप स्वास्थ्य तथा मानवीय सहायता उपलब्ध गराउन सकिने सम्भावनाबारे समेत अध्ययन गरेको जनाएको छ।
संस्थाका अनुसार बाढीका कारण विस्थापित धेरै नागरिक अहिले जंगल आसपास तथा जंगल क्षेत्रमा आश्रय लिएर बसिरहेका छन्। यस्तो अवस्थामा उनीहरू थप जोखिम र चुनौतीमा रहेको भन्दै तत्काल उद्धार, स्वास्थ्य सेवा तथा राहत सामग्रीको आवश्यकता रहेको सुन्दरढोका साथी सेवाले जनाएको छ। कठिन परिस्थितिका बाबजुद प्रभावित समुदायसम्म पुगेर केही तत्कालीन सहयोग उपलब्ध गराउन सकेकोमा संस्थाले आभार व्यक्त गरेको छ।

प्रारम्भिक राहत तथा अवस्थाको मूल्याङ्कन सम्पन्न गरेपछि टोली आज फर्किएको छ। सुन्दरढोका साथी सेवाले प्रभावित परिवार, राहत कार्यमा खटिएको आफ्नो टोली तथा समग्र नेपालका लागि निरन्तर प्रार्थना र सहयोग गरिदिन सबैमा अपिल गरेको छ। संस्थाले प्रभावित क्षेत्रमा तत्काल र थप मानवीय सहयोगको आवश्यकता अझै कायमै रहेको जनाएको छ।









