बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
त्यस्तै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक एआईयुक्त निगरानी ड्रोन पाँच थान, ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तीन थान तथा पावर बैंक १०० थान नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ ।
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले सरकारसँग समन्वय गरी सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । बैंकले उक्त सहयोगबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति दुःख व्यक्त गर्दै बैंकले सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेको छ ।
साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।