काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।
दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के-के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ।

प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताउनु भयो।
छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर-सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहनुभएको छ।

आज बसेको मन्त्रीपरिषद वैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाहरूलाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।









