काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन्। उनले देशभरका ग्यास उद्योगमा पर्याप्त मौज्दात रहेको भन्दै अभाव हुने आशंकामा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेका हुन्।
सांसद पराजुलीका अनुसार ग्यास अभाव हुने डरले उपभोक्ताले घरमा रहेका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा डिपो तथा बिक्री केन्द्रमा अनावश्यक भीड र लामो लाइन देखिएको हो। उनले यस्तो प्रवृत्तिले वास्तविक रूपमा तत्काल ग्यास आवश्यक भएका उपभोक्तालाई समस्या पर्न सक्ने बताएका छन्।

धेरै सिलिन्डर भएका उपभोक्तालाई केही समय धैर्य गर्न आग्रह गर्दै उनले एउटै सिलिन्डर भएका तथा ग्यास सकिएर तत्काल समस्यामा परेका परिवारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार आवश्यकता र वास्तविक उपभोगका आधारमा ग्यास वितरण व्यवस्थापन गर्न सके अहिले देखिएको भीड र लामो लाइन घटाउन सकिन्छ।
पराजुलीले सम्बन्धित डिपोमार्फत उपभोक्ताको आवश्यकताका आधारमा ग्यास वितरणलाई व्यवस्थित गर्न सकिने बताएका छन्। यसका लागि धेरै सिलिन्डर भएका उपभोक्ताले तत्काल सबै सिलिन्डर भर्न खोज्नुको सट्टा आवश्यकताअनुसार मात्र ग्यास लिनुपर्ने उनको आग्रह छ।

उनले आगामी केही दिनमै ग्यासको आपूर्ति नियमित अवस्थाभन्दा पनि सहज हुने दाबी गरेका छन्। ‘ग्यासको अभाव छैन, आत्तिनु पर्दैन। आवश्यकता भएकालाई पहिलो प्राथमिकता दिऔँ,’ सांसद पराजुलीले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।









