भक्तपुर । नेकपा (एमाले) बागमती प्रदेशअन्तर्गत जनसंगठनमा जिम्मेवारी सम्हालिरहेका अगुवा नेताहरूको दुईदिने कार्यशाला भक्तपुरको नगरकोटमा सुरु भएको छ। बागमती प्रदेशभित्र जनसंगठनको नेतृत्व तथा समन्वयको जिम्मेवारीमा रहेका करिब १६० जना अगुवा सहभागी कार्यशाला पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रारम्भ भएको हो।
कार्यशालाको अध्यक्षता बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्रका प्रमुख रमेश आचार्यले गरेका छन्। संयन्त्र सदस्य जय गुरुङले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल महिला संघ (अनेमसंघ)की अध्यक्ष सुमित्रा काफ्लेले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा एमाले केन्द्रीय कमिटी सचिव भानुभक्त ढकाल र बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यशालामा बागमती प्रदेशभित्र पार्टीका विभिन्न जनसंगठनको अवस्था, संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ। जनसंगठनलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन आवश्यक रणनीति तथा कार्यक्रमबारे सहभागीहरूबीच अनुभव आदानप्रदानसमेत हुने जनाइएको छ।
कार्यशालाको दोस्रो चरणमा पार्टी तथा जनसंगठनको भूमिकासँग सम्बन्धित विविध महत्वपूर्ण विषयमा प्रशिक्षण सञ्चालन गरिनेछ। प्रशिक्षणमा संगठन निर्माण, नेतृत्व विकास, जनतासँगको सम्बन्ध विस्तार, समसामयिक राजनीतिक विषय तथा जनसंगठनलाई प्रभावकारी रूपमा परिचालन गर्न अपनाउनुपर्ने रणनीतिबारे छलफल तथा प्रशिक्षण हुने आयोजकले जनाएको छ।

एमालेले जनसंगठनलाई पार्टी र जनताबीचको महत्वपूर्ण सम्पर्क माध्यमका रूपमा लिँदै आएको छ। बागमती प्रदेशमा रहेका विभिन्न जनसंगठनलाई थप सक्रिय र गतिशील बनाउँदै संगठनको पहुँच जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ। दुईदिने कार्यशालाले आगामी दिनमा जनसंगठनको कामलाई थप प्रभावकारी बनाउन आवश्यक दिशा र कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।









