काठमाडौँ । नेपाली कांग्रेसको सभापति गगन थापा नेतृत्वले आह्वान गरेको १५औँ महाधिवेशनमा सहभागी नहुन संस्थापन इतर पक्षले पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेको छ । शेरबहादुर देउवा पक्षले विज्ञप्ति जारी गर्दै थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी नहुन आग्रह गरेको हो ।
नेता डा. शशांक कोइरालाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ । संस्थापन इतर पक्षका नेताहरूबीच भएको छलफलपछि कोइरालाले विज्ञप्ति जारी गर्दै अदालतमा विवाद विचाराधीन रहेकै अवस्थामा महाधिवेशन अघि बढाउनु उचित नहुने धारणा सार्वजनिक गर्नुभएको हो ।

विज्ञप्तिमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाए पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुनसक्ने चेतावनी दिइएको छ । यस्तो अवस्थामा महाधिवेशनले पार्टीभित्रको विवाद समाधान गर्नुको सट्टा थप जटिलता निम्त्याउने देउवा पक्षको दाबी छ ।
देउवा पक्षले अहिले कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको जनाएको छ । पार्टीभित्रको विवाद समाधान गर्दै एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उसले विभाजन निम्त्याउने कुनै पनि गतिविधिबाट पार्टीलाई जोगाउनुपर्ने धारणा राखेको छ ।

विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनलाई देउवा पक्षले ‘अवैधानिक र विभाजनकारी’को संज्ञा दिएको छ । साथै पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन अपिल गरेको छ ।









