काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.२१ प्रतिशतले घटेको हो ।
आर्थिक वर्ष २०८२/८३ मा यी कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने १४ कम्पनीको कुल खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ रहेको थियो । यसरी एक वर्षमै निर्जीवन बीमा कम्पनीहरूको समग्र नाफामा करिब १ अर्ब ८० करोड रुपैयाँले कमी आएको देखिन्छ ।

विवरणअनुसार अघिल्लो आर्थिक वर्ष ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको ओरियन्टल इन्स्योरेन्सले यसपटक उल्लेख्य सुधार गर्दै सबैभन्दा बढी खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अर्कोतर्फ, नेसनल इन्स्योरेन्स भने घाटाबाट माथि उठ्न सकेन । अघिल्लो वर्ष १५ करोड ७ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा समीक्षा अवधिमा १३ करोड १० लाख रुपैयाँ रहेको छ । १४ कम्पनीमध्ये नेसनल इन्स्योरेन्स मात्रै घाटामा रहेको छ ।
प्रभु इन्स्योरेन्सको नाफा बढ्दा बाँकीको घट्यो
समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सबाहेक नाफामा रहेका सबैजसो कम्पनीको खुद नाफा घटेको छ । प्रभु इन्स्योरेन्सले अघिल्लो वर्षको २० करोड ५८ लाख रुपैयाँ नाफालाई बढाएर २४ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको नाफा १९.७१ प्रतिशतले वृद्धि भएको हो । अन्य कम्पनीको नाफामा भने १९ प्रतिशतदेखि ९८ प्रतिशतभन्दा बढीसमेत गिरावट आएको छ ।

ओरियन्टल इन्स्योरेन्सपछि सबैभन्दा बढी नाफा कमाउने कम्पनी सगरमाथा लुम्बिनी (सलिको) बनेको छ । सलिकोको खुद नाफा ३२.७५ प्रतिशतले घटेर ३७ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १९.४६ प्रतिशतले घटेको हो ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६८ लाख र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी कम्पनीको नाफा क्रमशः ३६.५३ प्रतिशत, ५६.७५ प्रतिशत र ५०.१९ प्रतिशतले घटेको छ ।
आइजिआइ प्रुडेन्सियलको नाफामा सबैभन्दा ठूलो गिरावट
प्रतिशतका आधारमा सबैभन्दा ठूलो नाफा गिरावट आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा देखिएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ९८.८९ प्रतिशतले घटेर आर्थिक वर्ष २०८२/८३ मा ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यसैगरी, शिखर इन्स्योरेन्सको नाफा ७१.२२ प्रतिशतले घटेर १३ करोड रुपैयाँ, सानिमा जिआइसीको ६१.३९ प्रतिशतले घटेर १३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँ र युनाइटेड अजोडको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । एनएलजी इन्स्योरेन्सको खुद नाफा पनि ६२.३१ प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।
- यस्तो छ निर्जीवन बीमा कम्पनीहरूको नाफा (हजार रुपैयाँमा) :










