नेपालको राजनीतिमा पछिल्लो समय आएको परिवर्तनलाई केवल सत्ता परिवर्तनका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो लामो समयदेखि कायम राजनीतिक संस्कार, शासनशैली र राज्य सञ्चालनप्रतिको जनअसन्तुष्टिको अभिव्यक्ति पनि हो। फागुन २१ को निर्वाचनले परम्परागत राजनीतिक शक्तिको समीकरणलाई चुनौती दिँदै नयाँ शक्ति, नयाँ पुस्ता र नयाँ अनुहारलाई राज्यसत्ताको केन्द्रमा पुर्याएको छ। यही परिवर्तनको अपेक्षा र विश्वासका बीच बालेन सरकार गठन भएको हो।
त्यसैले बालेन सरकारप्रति जनताको अपेक्षा सामान्य सरकारप्रतिको अपेक्षा होइन। जनताले नयाँ अनुहार मात्र होइन, नयाँ सोच, पारदर्शिता, सुशासन, जवाफदेहिता र आफ्नो दैनिक जीवनमा अनुभूति हुने परिवर्तन खोजेका छन्। अपेक्षा ठूलो भएपछि आलोचना र प्रश्न पनि स्वाभाविक रूपमा ठूलो हुन्छ। सरकारको आलोचना गर्नु र सरकारलाई असफल घोषणा गर्नु एउटै कुरा होइन। सही आलोचना सरकारलाई सुधार्ने लोकतान्त्रिक माध्यम हो।

अनुभवको कमी र सुधारको अवसर
सत्ता बाहिरबाट सरकारको आलोचना गर्नु र सरकारभित्र बसेर राज्य सञ्चालन गर्नु फरक अनुभव हो। संविधान, कानून, प्रशासनिक संरचना, आर्थिक स्रोत, पुराना दायित्व र राजनीतिक दबाबबीच निर्णय लिनुपर्ने भएकाले नयाँ सरकारका मन्त्रीहरूमा अनुभवको कमी देखिनु अस्वाभाविक होइन। तर कार्यशैलीमा कमजोरी हुनु र नियतमै खोट हुनु एउटै कुरा होइन।
सरकारले गल्ती गर्न सक्छ, निर्णयमा कमजोरी हुन सक्छ। महत्वपूर्ण कुरा गल्तीपछि त्यसलाई स्वीकार गर्ने, कारण पहिचान गर्ने र सुधार गर्ने क्षमता हो। नयाँ राजनीतिक शक्तिले पुराना कमजोरी दोहोर्याउनु हुँदैन भन्ने जनताको अपेक्षा हो।

पहिलो बजेट र आगामी चुनौती
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको पहिलो बजेटबाट जनताले नयाँ सरकारको आर्थिक दृष्टिकोण र परिवर्तनको स्पष्ट अनुभूति खोजेका थिए। तर अपेक्षाअनुसार उत्साह सिर्जना हुन नसकेको देखिन्छ। केही निर्णय विवादित हुनु र कतिपय अवस्थामा पुनर्विचार गर्नुपर्ने अवस्थाले सरकारलाई निर्णयअघि पर्याप्त अध्ययन, संवाद र प्रभाव मूल्याङ्कनको आवश्यकता देखाएको छ।
यद्यपि पहिलो वर्षलाई अघिल्लो सरकारका बजेट, नीति, कार्यक्रम र दायित्व व्यवस्थापनसँगै सिकाइको वर्षका रूपमा पनि लिन सकिन्छ। आगामी बजेट भने सरकारको आफ्नै प्राथमिकता र आर्थिक दृष्टिकोण देखाउने महत्वपूर्ण अवसर हुनेछ। यसको सफलता बजेटको आकारमा होइन, रोजगारी, उत्पादन, उद्यमशीलता, सेवा प्रवाह र जनताको जीवनमा आएको परिणाममा मापन हुनुपर्छ।
केन्द्रदेखि स्थानीय तहसम्म परिणाम चाहिन्छ
बालेन सरकारको मूल्याङ्कन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश र स्थानीय तहको भूमिकालाई पनि जोडेर हेर्नुपर्छ। जनताले सरकारलाई सिंहदरबारबाट मात्र होइन, वडा, नगरपालिका र गाउँमा पाउने सेवा, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासबाट अनुभूति गर्छन्।
त्यसैले केन्द्रको राजनीतिक परिवर्तनलाई प्रदेश र स्थानीय तहसम्म परिणाममा रूपान्तरण गर्न सक्षम नेतृत्व आवश्यक छ। चुनावको समयमा मात्र उम्मेदवार खोज्ने होइन, जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व पहिल्यै तयार गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ।
सांसदको भूमिका र आलोचनाको महत्व
नयाँ अनुहार संसद्मा पुग्नु आफैँमा पर्याप्त होइन। सांसदको जिम्मेवारी कानून निर्माण र भाषणमा मात्र सीमित हुँदैन। बजेट तथा नीतिमाथि गम्भीर बहस गर्ने, सरकारलाई जवाफदेही बनाउने, जनताका समस्या संसद्मा उठाउने र आवश्यक पर्दा आफ्नै सरकार तथा पार्टी नेतृत्वलाई प्रश्न गर्ने साहस पनि सांसदको जिम्मेवारी हो।
प्रतिनिधिसभामा माननीय मनिषाज्यूले प्रस्तुत गर्नुभएको भनाइ—“If you don’t know what you don’t know, then you really don’t know. The day you feel you have learned everything, you are almost dead.”—ले यही सन्देश दिन्छ। नेतृत्वले आफूले सबै कुरा जानेको ठान्नु हुँदैन। आलोचना र प्रश्न सुन्ने क्षमता नै सुधारको आधार हो।
आफ्नै दलका सांसदले सरकारको आलोचना गर्दा त्यसलाई विद्रोह वा विरोधका रूपमा मात्र बुझ्नु उचित हुँदैन। तथ्य र जनहितमा आधारित आलोचनाले सरकारलाई सही बाटोमा हिँड्न सहयोग गर्छ। आलोचना सत्ताको शत्रु होइन, सही आलोचना सत्तालाई देखाउने ऐना हो।
सरकारलाई समय दिऔँ, तर खबरदारी गरौँ
मेरो बुझाइमा बालेन सरकारलाई अहिले नै अन्तिम निष्कर्षका आधारमा मूल्याङ्कन गर्नु केही हतार हुन्छ। कम्तीमा दुई वर्षको कार्यसम्पादन हेरेर नीति, बजेट, कार्यान्वयन, संस्थागत सुधार र जनताको प्रत्यक्ष अनुभूतिका आधारमा मूल्याङ्कन गर्नु उचित हुन्छ।
तर यसको अर्थ दुई वर्षसम्म सरकारलाई प्रश्न नगर्ने भन्ने होइन। गलत निर्णय भए आजै खबरदारी गर्नुपर्छ, जनहितविपरीत काम भए आजै आवाज उठाउनुपर्छ। सरकारलाई समय दिनु अन्धसमर्थन होइन; परिणामका आधारमा निष्पक्ष मूल्याङ्कन गर्ने अवसर दिनु हो।
अन्ततः जनताले सरकारको मूल्याङ्कन सामाजिक सञ्जालका बहसबाट होइन, आफ्नो जीवनबाट गर्नेछन्—रोजगारी आयो कि आएन, व्यवसायको वातावरण बन्यो कि बनेन, सरकारी सेवा सहज भयो कि भएन र राज्यप्रति विश्वास बढ्यो कि बढेन।
त्यसैले बालेन सरकारलाई अन्धसमर्थन होइन, जिम्मेवार समर्थन; अन्धविरोध होइन, रचनात्मक आलोचना आवश्यक छ। सरकार आफ्ना कमजोरीबाट सिक्दै अघि बढ्न सके परिवर्तनको आशासहित प्राप्त जनविश्वास अझ बलियो बन्न सक्छ।
लेखक : राजेश शिल्पकार “राष्ट्रिय स्वतन्त्र पार्टी” भक्तपुर नगर समितिका पूर्व सभापति हुन









