कृष्ण कुँवर (कर्नेलियस) अबुधाबी — हरितालिका तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले देश–विदेशमा रहेका नेपालीलाई लक्षित गरी खुला तीज गीत तथा भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
तीजको मौलिक संस्कृति, कला र सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा बुहारी, आमा समूह, विभिन्न संघसंस्था तथा विद्यालय र कलेजका समूहले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन कुनै शुल्क तिर्न नपर्ने आयोजकको भनाई छ।

प्रतियोगिताका लागि सहभागीले आफ्नै टोली बनाएर तीज गीत वा तीज विशेष भिडियो तयार गरी आयोजकलाई पठाउनु पर्नेछ।
प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ, तृतीयले १० हजार रुपैयाँ र चतुर्थ हुने समूहले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको अन्तिम मूल्यांकनमा निर्णायक मण्डलको निर्णयलाई ८० प्रतिशत र बुहारी ग्रुप अफ नेपालको फेसबुक पेजमा प्राप्त हुने लाइक, कमेन्ट तथा सेयरलाई २० प्रतिशत अङ्क दिइनेछ।
प्रतियोगिताका शीर्षक, सहभागिताका विस्तृत नियम, भिडियो पठाउने प्रक्रिया तथा अन्य आवश्यक जानकारी भने आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।
आयोजकका अनुसार व्यावसायिक प्रयोजनका लागि तयार गरिएका भिडियो प्रतियोगितामा समावेश गरिने छैनन्। प्रतियोगितामा सहभागी हुन इच्छुक समूह तथा संस्थालाई तयारी सुरु गर्नसमेत आयोजकले आग्रह गरेको छ।
“बुहारी ग्रुप अफ नेपाल” की अध्यक्ष लक्ष्मी तिवारीका अनुसार- तीजको सांस्कृतिक पक्षलाई सिर्जनात्मक माध्यमबाट प्रस्तुत गर्ने यो प्रतियोगितामा देश तथा विदेशबाट उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।









