काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन्। तनहुँ भ्रमणका क्रममा जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकको नियमित खर्च धान्नसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार आफ्नै आम्दानी बढाउनेतर्फ केन्द्रित भएको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले राज्यको कमजोर आम्दानीका कारण विगतदेखि नै ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनुपर्ने अवस्था रहेको उल्लेख गरे। करको दायरा फराकिलो बनाउँदै थोरै–थोरै योगदानबाट राजस्व वृद्धि गर्ने र आफ्नै आम्दानीबाट देश विकास गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो।

उनले जनताको विकाससम्बन्धी अपेक्षा र मुलुकको आर्थिक सामर्थ्यबीच ठूलो अन्तर रहेको बताए। दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो बन्दै गएको अवस्थामा नेपाल आफैँ आर्थिक रूपमा सबल बन्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए। उनका अनुसार राज्यको नियमित तथा अत्यावश्यक दायित्व करिब १३ खर्ब ५० अर्ब रुपैयाँ रहेकोमा सरकारको आम्दानी करिब १२ खर्ब ५० अर्ब रुपैयाँ हाराहारी मात्रै छ।
अर्थमन्त्री वाग्लेले ऋण लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै माथि उठ्नुपर्ने बताए। करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्ने गुनासो आए पनि अन्तिम कर दायित्वबाट सर्वसाधारणलाई जोगाउने विषयमा सरकार सचेत रहेको उनले स्पष्ट पारे।

सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै करिब ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको उनको भनाइ छ। उनले आगामी दिनमा प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज हुने वातावरण निर्माणका लागि सरकारले आवश्यक कदम अघि बढाउने जानकारी दिए।









