काठमाडौं । नाडा मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन्, जहाँ ग्राहक तथा अवलोकनकर्ताले सवारीका विशेषता र प्रविधिबारे विस्तृत जानकारी लिन सक्नेछन्।
एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा मिनीबस प्रदर्शनमा राखिएका छन्। व्यावसायिक यातायातसँगै स्कुल तथा कलेजका लागि लक्षित गरी तयार गरिएका यी ईभीमा आधुनिक प्रविधि, उच्च ब्याट्री क्षमता, पिक पावर र पर्याप्त ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ११ र १२ सिट क्षमताका मोडलमा ४१.८६ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री, ७० किलोवाट पिक पावर र १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यी मोडलले एकपटकको चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट आवर सीएटीएल ब्याट्री, ८० किलोवाट पिक पावर र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको छ।
त्यसैगरी, १६ सिट क्षमताको मिनीबसमा मोडलअनुसार ५३.५८ तथा ७० किलोवाट आवर क्षमताका सीएटीएल ब्याट्री प्रयोग गरिएको छ। यसमा ८० तथा १२० किलोवाट पिक पावर र २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। उक्त मिनीबसले मोडलअनुसार एकपटकको चार्जमा २८० देखि ३५० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ।

व्यावसायिक यातायातमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक प्रयोजनका लागि आरामदायी, आधुनिक र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, कम्पनीले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो विद्युतीय गाडी खरिद गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जनाएको छ।









