काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
बैंकका अनुसार उक्त सेयर हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक संस्थापक सेयरधनीले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्। बैंकले सेयरको बिक्री मूल्य भने सम्बन्धित बिक्रेताले तोकेबमोजिम हुने जनाएको छ।
तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणका लागि बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। बैंकले इच्छुक संस्थापक सेयरधनीलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।










