कृष्ण कुँवर (कर्नेलियस)- अबुधाबी। दुबईस्थित ओल्डमन्क्स एफ.सी (Oldmonkx FC) को आयोजनामा स्वर्गीय सहदेव सुब्बाको सम्मान र सम्झनामा ‘७औँ सहदेव स्मृति कप–२०२६’ आगामी ५ सेप्टेम्बर (शनिबार) राति ९ बजे (डुल्स्को स्पोर्ट्स कम्प्लेक्स, अलक्वोज) मा आयोजना हुने भएको छ।
प्रतियोगितामा उन्फा(UNFA) मा दर्ता भएका १६ टोलीले ११–११ खेलाडी सम्मिलित नकआउट प्रणालीमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टोलीले ६,१११ दिराम, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४,१११ दिराम, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै फेयर प्ले अवार्ड, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट व्यवस्थापक तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन १ अगस्टदेखि १५ अगस्ट २०२६ सम्म दर्ता खुला गरिएको छ। सहभागी क्लबहरूले २० अगस्टभित्र प्रवेश शुल्कको ५० प्रतिशत बुझाइसक्नुपर्नेछ भने खेलाडीहरूको अन्तिम नामावली २५ अगस्ट राति ११:५९ बजेसम्म UNFA मा बुझाउनुपर्नेछ। साथै, प्रतियोगितामा कुन टोलीले कससँग खेल्ने भन्ने खेल तालिका (फिक्स्चर) २३ अगस्ट बिहान ११ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल १६ टोली सहभागी हुनेछन्। बाँकी स्थानहरू ‘पहिले आउने, पहिले सहभागी हुने’ आधारमा प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताका क्रममा खेलाडीहरूका लागि पिउने पानी र फलफूलको व्यवस्था समेत गरिनेछ।
युएईकै सबैभन्दा पुरानो नेपाली फुटबल क्लब तथा सबैभन्दा लामो समयदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको ओल्डमन्क्स फुटबल क्लबले यस वर्ष पनि ‘७औँ सहदेव स्मृति कप’ आयोजना गर्न लागेको क्लबका संस्थापक तथा प्रमुख सल्लाहकार अनिल शेर्पा र विकास राईले बताए।









