भक्तपुर । नेकपा एमाले चाँगुनारायण वडा नम्बर १ कमिटीका अध्यक्ष सुदिप तिमिल्सिनाले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा घोषणा गरेका छन् ।
तल्लो तहका भुइँमानिसका समस्या समाधान र युवाहरूलाई पार्टीमा जोड्न सक्रिय तिमिल्सिनाले शीर्ष नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको कदमपछि शीर्ष नेतृत्वसँग उनको वैचारिक मतभेद सुरु भएको थियो । पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रम, पुस्तान्तरणको बहस र जेन्जी आन्दोलनको नयाँ वैचारिक लहरका कारण उनी पार्टीका स्थानीय गतिविधिबाट क्रमशः टाढिँदै गएका थिए ।

राजीनामा दिँदै उनले अब कुनै पनि दबाब वा पूर्वाग्रहबिना स्वतन्त्र रहेर समाज, सुशासन र भुइँमानिसको न्यायका लागि आफ्नो यात्रा निरन्तर जारी रहने स्पष्ट पारेका छन् ।
समायोजनका क्रममा नगर सदस्यका रूपमा काम गरिसकेका उनी चाँगुनारायण वडा १ कमिटीको इन्चार्ज हुँदै हाल वडा कमिटी अध्यक्षको जिम्मेवारीमा क्रियाशील थिए ।









