काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले वित्त, लेखा तथा कोष व्यवस्थापन विभागका लागि कर्मचारी माग गरेको छ। बैंकले वरिष्ठ सहायक, पर्यवेक्षक र कनिष्ठ अधिकृत तहमा अर्धयोग्य चार्टर्ड लेखापाल (सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट) पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको जनाएको छ।
बैंकका अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) वा भारतको चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसीएआई) अन्तर्गतको ‘क्याप–२’ परीक्षा उत्तीर्ण गरी अनिवार्य व्यावसायिक प्रशिक्षण (आर्टिकलशिप) पूरा गरेको हुनुपर्नेछ। वित्त, लेखा वा लेखापरीक्षण क्षेत्रमा एकदेखि दुई वर्षसम्मको कार्यानुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

उमेरको हदअनुसार कनिष्ठ अधिकृत पदका लागि अधिकतम ४० वर्ष तथा वरिष्ठ सहायक र पर्यवेक्षक पदका लागि अधिकतम ३५ वर्ष तोकिएको छ। आवेदन परेका उम्मेदवारमध्ये छनोटमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने बैंकले स्पष्ट गरेको छ।
इच्छुक तथा योग्य उम्मेदवारले आगामी भदौ ३ गते भित्र बैंकको करिअर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। बैंकिङ क्षेत्रमा व्यावसायिक करिअर बनाउन चाहने योग्य युवाका लागि यो अवसर महत्वपूर्ण मानिएको छ।










