काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ। बैंकले समीक्षा अवधिमा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो।
बैंकका अनुसार सञ्चालन नाफा २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद ब्याज आम्दानी भने केही घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्जमा कमी आउँदा बैंकको समग्र नाफामा सकारात्मक प्रभाव परेको वित्तीय विवरणले देखाएको छ।

यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) उल्लेखनीय रूपमा घटेर ०.५९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष १.२२ प्रतिशत थियो। यससँगै प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ३२ पैसाबाट बढेर १६ रुपैयाँ ३४ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी कायम भएको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा पुगेको छ। नाफा वृद्धि, खराब कर्जामा कमी र प्रमुख वित्तीय सूचकमा सुधारले बैंकको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।










