काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच उपचार सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ। साउन १८ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि र त्यसअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट पाउनेछन्।
सम्झौताअनुसार बिरामी दर्ता र बेड शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ भने अस्पतालका विभिन्न उपचार तथा सेवामा लाग्ने शुल्कमा १० देखि २० प्रतिशतसम्म छुट दिइने नेपाल बैंकले जनाएको छ। यसबाट बैंकका ग्राहक र कर्मचारीले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास गरिएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोशन बुढाथोकीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालबाट प्रदान गरिने उच्चस्तरीय स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ लिन सक्ने जनाइएको छ।
नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २८६ एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले ग्राहक सेवामा सुधार, आधुनिक बैंकिङ प्रविधिको विस्तार र सहुलियतमूलक सेवामार्फत आफ्नो सेवाको दायरा निरन्तर विस्तार गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।










