भक्तपुर । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०८४ देखि संशोधित पाठ्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराएको छ।
केन्द्रले २०८३ साउन २८ गते जारी गरेको सूचनाअनुसार, पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८३ असार १९ गते बसेको बैठकको सिफारिस तथा मन्त्रालयका विभिन्न निर्णयका आधारमा सामाजिक अध्ययन विषयअन्तर्गत कक्षा ५, ८, १० र १२ का नयाँ पाठ्यपुस्तक विकास गरिएको जनाएको छ।


त्यसैगरी, मन्त्रालयको २०८३ साउन ११ गतेको निर्णयबमोजिम आधारभूत तह कक्षा १–३ को परिमार्जित पाठ्यक्रम २०८२ तथा प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२ पनि स्वीकृत भई आगामी शैक्षिक सत्रदेखि लागू हुने जनाइएको छ।

पाठ्यक्रम विकास केन्द्रले सम्बन्धित सबै निकायलाई स्वीकृत परिमार्जित पाठ्यक्रम तथा नयाँ पाठ्यपुस्तकअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै सोहीअनुसार आवश्यक तयारी गर्न निर्देशन दिएको छ।









