काठमाडौँ । दक्षिण कोरियाको सुवनमा आयोजित ‘थर्ड मिस्टर फिटनेस नेपाल (Men’s Physique)’ प्रतियोगिताको ओभरअल उपाधि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका प्रदीप राईले जितेका छन्। फिटनेस नेपालको आयोजनामा “स्वास्थ्य नै धन हो” भन्ने मूल नारासहित सम्पन्न प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिसहित १५ लाख कोरियन वोन नगद पुरस्कार हात पारेका हुन्।
प्रतियोगितामा १५ जना प्रतिस्पर्धीले तीन विधामा प्रतिस्पर्धा गरेका थिए। १६० सेन्टिमिटर मुनिको विधामा प्रदीप राई प्रथम, विक्रम चेम्जोङ दोस्रो तथा अमित लिम्बु तेस्रो भए। १६५ सेन्टिमिटर मुनिको विधामा जीत थापा प्रथम, ज्याक दोस्रो र सागर वाइबा तेस्रो स्थानमा रहे। त्यस्तै, १६५ सेन्टिमिटरमाथिको विधामा भीम श्रीस मगर प्रथम, रबिन तामाङ दोस्रो तथा अभिषेक श्रेष्ठ तेस्रो बने।

तीनै विधाका विजेताबीच भएको ओभरअल प्रतिस्पर्धामा प्रदीप राई पहिलो स्थान हासिल गर्दै प्रतियोगिताको मुख्य उपाधि जित्न सफल भए। प्रतियोगितामा भीम श्रीस मगर दोस्रो हुँदै १० लाख कोरियन वोन तथा जीत थापा तेस्रो स्थानसहित ५ लाख कोरियन वोन नगद पुरस्कारबाट सम्मानित भएका आयोजकले जनाएको छ।
आयोजक फिटनेस नेपालका अनुसार दक्षिण कोरियामा रहेका नेपाली युवाहरूलाई नियमित व्यायाम, स्वस्थ जीवनशैली र फिटनेस संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले प्रवासमा रहेका नेपालीबीच स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्याएको आयोजकको विश्वास छ।

विजेता प्रदीप राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका स्थायी बासिन्दा हुन्। नेपाली गीत–संगीत क्षेत्रमा समेत परिचित उनी रोजगारीका सिलसिलामा हाल दक्षिण कोरियामा कार्यरत छन्। उनी श्रम संस्कृति पार्टी प्रवास समिति दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्षसमेत रहेका छन्। प्रतियोगितामा प्राप्त सफलताले खोटाङसहित नेपाली समुदायमा खुसीको वातावरण सिर्जना गरेको छ।









