काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य बढाएको जनाएको छ।
मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल तथा मट्टितेलको मूल्य पनि सोही अनुपातमा समायोजन गरिएको निगमले जनाएको छ।
निगमका अनुसार एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्यमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।










