काठमाडौं । श्रम संस्कृति पार्टीले तराई–मधेसका विभिन्न जिल्लामा देखिएको धार्मिक तनावका बीच सरकारले आन्दोलनरत पक्षसँग गरेको वार्ताप्रति गम्भीर चासो व्यक्त गर्दै धर्मनिरपेक्ष नेपालको संवैधानिक व्यवस्थाविपरीत हुने कुनै पनि सहमति नगर्न सरकारलाई कडा चेतावनी दिएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा धर्मलाई राज्यसँग जोड्ने कुनै पनि निर्णय अस्वीकार्य हुने स्पष्ट पारेको छ।
पार्टीका अनुसार वार्तामा नेपाललाई एउटा मात्र धर्मको राष्ट्र मान्ने विषयमा सहमति भएको भन्ने समाचार सार्वजनिक भइरहेका कारण सरकार तत्काल आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न बाध्य छ। धर्मनिरपेक्षताको मर्मविपरीत कुनै सम्झौता गरिए त्यसले संविधान, लोकतन्त्र र सबै धर्मावलम्बीको समान अधिकारमाथि गम्भीर प्रहार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा राज्यको कुनै धर्म नहुने तर प्रत्येक नागरिकको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने संवैधानिक व्यवस्थालाई अक्षुण्ण राख्नुपर्नेमा जोड दिइएको छ। बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक पहिचान नै नेपालको वास्तविक शक्ति भएकाले कुनै एक समुदायलाई प्राथमिकता दिने नीति राष्ट्रिय एकताविरुद्ध जाने पार्टीको ठहर छ।
श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य गुरुङले आन्दोलनका नाममा धार्मिक भावनालाई उक्साउने, बहुसंख्यक वा अल्पसंख्यक समुदायलाई एकअर्काविरुद्ध उभ्याउने गतिविधि तत्काल रोक्न सबै पक्षसँग आग्रह गरेका छन्। मानवता, न्याय र संवैधानिक मूल्यका आधारमा समस्या समाधान गर्न तथा सबै नागरिकलाई समान रूपमा अपनत्व महसुस हुने वातावरण निर्माण गर्न सरकार र सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने पार्टीले माग गरेको छ।










