हिमांशु राय – बेलबारी, मोरङ । पूर्वकी चर्चित कवि बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’को एक कार्यक्रममा आज सार्वजनिक गरियो। प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा राजनैतिक व्यक्तित्व हर्कमान तामाङ, आयोजक अध्यक्ष रमेश निरौला, समीक्षक डा.मोहन तुम्बाहाङ तथा अनुवादक कवि बादल चाम्लिङले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि हर्कमान तामाङले अन्तर्राष्ट्रिय स्तरका विशिष्ट साहित्यकारहरुको कृति हामीले अझ धेरै अध्ययन-मनन गर्नुपर्ने र नेपाली साहित्यलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड दिँदै बादल चाम्लिङको अनुवाद कविता-कृति ‘नाइटमेयर’ले नेपाली साहित्यलाई बाहिरी जगत्मा पुर्याउन सहयोग पुग्ने बताउनुभयो।


समीक्षक डा. मोहन तुम्बाहाङले अनुवाद कार्य सजिलो नभए पनि अनुवादक चाम्लिङले आँट गरेर मेहनतका साथ यो कृति ल्याउनु ठुलो कार्य भएको बताउँदै कृतिभित्रका कविताहरुको संक्षिप्त समीक्षात्मक टिप्पणीका साथ कृतिले अरू लेखक-पाठकहरुलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
अनुवादक कवि बादल चाम्लिङले चुनौतीहरुलाई स्वीकार गर्दे नेपाली कविताहरुलाई अङ्ग्रेजी भाषाका पाठकहरुका लागि अङ्ग्रेजीमा रूपान्तरण गरेको बताउनुभयो।
कृतिकारको परिचय दिँदै चर्चाकार ईरानराईले भाषा-शिक्षकहरुले अरूको साहित्यलाई यसो हो, त्यसो हो मात्र भन्दै आएको तर रचनात्मक कार्य सिकाउँदा रचना गरेरै सिकाउनु उपयुक्त हुने भएकोले सिर्जना र अनुवाद कार्य महत्वपूर्ण भएको ‘नाइटमेयर’ले सन्देश दिएको बताउनुभयो।
अध्यक्ष रमेश निरौलाले स्थानीय स्तरको नेपाली साहित्य अङ्ग्रेजी भाषामा अनुदित थोरै हुने गरेकोमा ‘नाइटमेयर’ले अब बृहत्तर बाटो खोलेको बताउनु भयो।


कार्यक्रममा साहित्यकार/समाजसेवीहरु चन्द्रमणि राई, डा. छवि वैरागी घिमिरे, परशुराम सुवेदी, छत्र लिम्बू,शङ्कर गुरुङ, भगवतीप्रसाद घिमिरे, तिला लेकाली, देवान किराँती, प्रकाश दिप्साली राई, केपी घिमिरे, गगन याक्पाङ्देन, कृष्ण गुरुङ, धनजित पराजुली, हिरा खड्का अधिकारी, सञ्जीव धिमाल, अर्जुन कुलुङ राई र अजित धिमाल अतिथि हुनुहुन्थ्यो।
कृतिमा २७ जना अन्य कविहरुको एकेकओटा तथा अनुवादक कवि स्वयंको १६ गरी ४३ कविताहरुलाई समेटिएको छन्।
कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता र कवि जे.बी. थुलुङको सञ्चालनमा यालाङ होटल, बेलबारी-३, को सभाहलमा सम्पन्न गरिएको थियो।









