काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदुर आन्दोलन नेपालको आयोजनामा देशका विभिन्न जिल्लाबाट आएका पीडितहरूले ‘राजधानी मार्च’ गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनकारीहरूले लघुवित्त संस्थाहरूले उच्च ब्याजदर, चर्को जरिवाना र अस्वाभाविक ऋण असुलीका माध्यमबाट सर्वसाधारणलाई आर्थिक रूपमा शोषण गरेको आरोप लगाएका छन्। उनीहरूले ऋणीलाई सहज रूपमा बाँच्न पाउने वातावरण सिर्जना गर्न, अन्यायपूर्ण ऋण असुली रोक्न तथा पीडितका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

राजधानी मार्चका क्रममा सहभागीहरूले विभिन्न नारासहित काठमाडौंका प्रमुख सडकमा प्रदर्शन गरेका थिए। उनीहरूले लघुवित्त तथा वित्तीय संस्थाको नियमन प्रभावकारी बनाउन, पीडितको आवाज सुनुवाइ गर्न र वित्तीय क्षेत्रका विकृति अन्त्य गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
आन्दोलनरत पक्षले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। सरकारले वार्तामार्फत समस्या समाधान गर्न पहल गर्नुपर्ने उनीहरूको भनाइ रहेको छ।










