जाेगबीर भण्डारी ,भक्तपुर । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा लिन रिफर कार्ड अनिवार्य गरिएपछि भक्तपुर अस्पतालमा दैनिक रूपमा सेवाग्राहीको उल्लेख्य भिड लाग्न थालेको छ। उपचारका लागि अस्पताल पुग्ने बिरामीहरू रिफर कार्ड बनाउन लामो समयसम्म लाइनमा बस्न बाध्य भएका छन्।
नेपाल सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमा कार्डमार्फत उपचार गर्न सम्बन्धित अस्पतालबाट जारी हुने रिफर कार्ड अनिवार्य भएपछि विशेषगरी ग्रामीण क्षेत्रबाट आएका सेवाग्राहीहरू बढी प्रभावित भएका छन्। आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य बीमा सुविधामा निर्भर नागरिकहरूलाई उपचारअघि रिफर कार्ड बनाउनुपर्ने प्रक्रियाले थप सास्ती दिएको गुनासो गरेका छन्।

सेवाग्राहीहरूका अनुसार यसअघि एकपटक रिफर कार्ड बनाएपछि तोकिएको अस्पतालमा एक वर्षसम्म उपचार सेवा लिन सकिने व्यवस्था थियो। तर हाल प्रत्येक पटक उपचार वा स्वास्थ्य परीक्षणका लागि नयाँ रिफर कार्ड आवश्यक पर्ने व्यवस्था लागू भएपछि अस्पतालमा अनावश्यक भिड बढेको र बिरामीले समयमै सेवा पाउन कठिनाइ भइरहेको बताएका छन्।
स्थानीयवासी तथा सेवाग्राहीहरूले बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन रिफर प्रणालीलाई व्यावहारिक र सेवामैत्री बनाउन सरकारसँग माग गरेका छन्। उनीहरूले अनावश्यक झन्झट हटाई बिरामीको सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायले आवश्यक सुधार गर्नुपर्ने बताएका छन्।



















