काठमाडौं । उपचारका लागि विदेशमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फर्किने तयारी गर्दै सरकारलाई प्रतिशोधको राजनीति नगर्न आग्रह गरेका छन्। विदेशमै रहँदा पनि आफ्नो मन, सोच र चिन्ता देश तथा जनताप्रति नै केन्द्रित रहेको उनले बताएका छन्।
देउवाले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको उल्लेख गरेका छन्। देशको समसामयिक परिस्थितिप्रति आफू निरन्तर सचेत रहेको भन्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण आवश्यक रहेको उनको भनाइ छ।

उनले हिंसा, त्रास र असहज राजनीतिक वातावरणबीच निर्वाचन सम्पन्न भए पनि त्यसबाट आएको नयाँ जनादेशलाई नेपाली कांग्रेसले सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्। लोकतान्त्रिक प्रक्रियाबाट आएको जनमतको सम्मान गर्नु सबै राजनीतिक दलको साझा दायित्व भएको उनको धारणा छ।
देउवाले सरकारमाथि प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाउँदै यसले लोकतान्त्रिक प्रणालीमाथि दबाब सिर्जना गर्न खोजेको टिप्पणी गरेका छन्। असहमतिलाई दमन गर्ने प्रयास लोकतन्त्रको भावना विपरीत हुने भन्दै उनले सरकार संयमित र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल फर्किने तयारीमा रहेका देउवाले आफू नेपाली भूमिमा पुनः पाइला टेक्न लागिरहेको उल्लेख गर्दै सरकारले प्रतिशोधात्मक र अलोकतान्त्रिक बाटो नअपनाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। लोकतन्त्र, विधिको शासन र राजनीतिक सहमतिलाई बलियो बनाउने दिशामा सबै पक्ष अघि बढ्नुपर्ने उनको सन्देश छ।


















