काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अशोकबहादुर टन्डनले उत्पादन र निर्यातलाई प्राथमिकतामा नराखेसम्म देशको अर्थतन्त्र दिगो रूपमा सबल बन्न नसक्ने बताएका छन्।
टन्डनले आफू नेतृत्व गरिरहेको स्थानीय तहको उदाहरण दिँदै महिनामा एक लाख रुपैयाँ आन्तरिक राजस्वसमेत उठाउन कठिन भइरहेको बताएका छन्। विकास तथा चालु खर्च धान्न संघीय सरकारले पठाउने ऋणमा आधारित बजेटमा निर्भर रहनुपर्ने अवस्था रहेको उल्लेख गर्दै आफ्नो पालिकामा करिब ४५ करोड रुपैयाँ बराबरको ऋण बजेट आएको बताएका छन्।

उनका अनुसार यस्तो व्यवस्था दीर्घकालीन समाधान हुन सक्दैन। उनले स्थानीय सरकारको पहिलो प्राथमिकता नागरिकलाई उत्पादनमूलक कार्यमा जोड्ने हुनुपर्ने धारणा राखेका छन्। सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी र प्राविधिक सहयोग बढाए नागरिक स्वयं स्वरोजगार बन्ने, कर तिर्न सक्षम हुने र स्थानीय तहले आफ्नै स्रोतबाट विकास गर्न सक्ने उनको भनाइ छ। त्यसो भए मात्रै विकास दिगो र आत्मनिर्भर बन्ने टन्डनले बताएका छन्।
टन्डनले अहिले स्थानीय तहमा जाने बजेटको ठूलो हिस्सा चालु खर्चमा सीमित भएको र विकासलाई सडक निर्माण तथा स्तरोन्नतिसम्म सीमित गरिएको टिप्पणी गरेका छन्। गाउँमा जनशक्ति घट्दै जानु र राजस्व संकलन कमजोर हुनुको मुख्य कारण नागरिकलाई उत्पादनसँग जोड्न नसक्नु रहेको उनको निष्कर्ष छ।

उनले अनुदान र ऋणमा आधारित अर्थतन्त्रभन्दा उत्पादनमा आधारित स्थानीय अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। “ऋण माग्नुभन्दा पहिले उत्पादन बढाऔँ, आयात घटाऔँ र निर्यात बढाऔँ। भाषण होइन, उत्पादन गरौँ। ऋण होइन, रोजगारी सिर्जना गरौँ,” भन्दै टन्डनले उत्पादनमुखी नीति अवलम्बन गर्न सरकार र स्थानीय तहलाई आग्रह गरेका छन्।


















