काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो (कोटेश्वर) ले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको नियन्त्रण अभियान उल्लेखनीय रूपमा सफल भएको जनाएको छ। ब्यूरोका अनुसार उक्त अवधिमा ९९३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् भने १ हजार ७६८ जनालाई पक्राउ गरिएको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५.५५ प्रतिशतले बढी रहेको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार वर्षभरि १३.३४७ केजी कोकिन, ७.८ केजी ह्वाइट हेरोइन, २३.१४१ केजी खैरो हेरोइन, ४३ केजी अफिम, ४९१.५ केजी चरेस, २०४ केजी थाई गाँजा, १ हजार ६०३ केजी गाँजा, एलएसडी तथा ३२ लिटर कोडिन बरामद गरिएको छ। त्यसैगरी ५५० ग्राम एम्फेटामाइन, ५ लाख ४१ हजार ९२७ क्याप्सुल ट्रामाडोल, ३४ हजार ४४५ ट्याब्लेट नाइट्राभेट र ६६ हजार १०२ एम्पुल नियन्त्रित औषधिसमेत बरामद गरिएको जनाएको छ।

कारबाहीका क्रममा १ करोड ९३ लाख ५४ हजार ६९४ रुपैयाँ नगद, ११५ थान डिजिटल तराजु, ७५७ थान मोबाइल फोन, १५ वटा चारपाङ्ग्रे र ८३ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ। साथै ५ थान पेस्तोल र २९ राउण्ड गोलीसमेत बरामद भएको ब्यूरोले जनाएको छ। अदालतमा अभियोगसहित पेश गरिएका १ हजार ३२५ प्रतिवादीमध्ये १ हजार ११३ जना अर्थात् करिब ८४ प्रतिशतलाई पुर्पक्षका लागि थुनामा पठाइएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।
ब्यूरोका अनुसार आर्थिक वर्षभरि बरामद गरिएका लागुऔषधको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य करिब ८५ करोड ७७ लाख ५४ हजार ८४० रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। यस अवधिमा ब्राजिल, कोलम्बिया, भारत, सेनेगल र इथियोपियालगायत विभिन्न देशका नागरिक संलग्न अन्तर्राष्ट्रिय तथा संगठित तस्करी गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गरिएको थियो। अभियानका क्रममा कोकिन, हेरोइन, अफिम, ट्रामाडोल, ठूलो परिमाणमा नगद, सवारी साधन र हतियारसहित दर्जनौँ गिरोहलाई कानुनी दायरामा ल्याइएको ब्यूरोले जनाएको छ।

ब्यूरोले लागुऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्न आर्थिक वर्षभरि १९२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ हजार ८११ जनालाई प्रत्यक्ष रूपमा सचेत बनाएको जनाएको छ। केही घटनामा प्रहरीमाथि आक्रमण वा अभियुक्तले भाग्ने प्रयास गरेपछि कानुनी प्रक्रिया अनुसार हवाई फायर तथा नियन्त्रणात्मक गोली प्रहार गरी पक्राउ गरिएको समेत ब्यूरोले स्पष्ट पारेको छ।
ब्यूरोले आगामी दिनमा सीमावर्ती क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा देशका विभिन्न जिल्लामा निगरानी थप सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय तथा आन्तरिक लागुऔषध तस्करी नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।


















