भक्तपुर । भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरिएको पार्टीमा विवाद हुँदा भएको कुटाकुटमा गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि प्रहरीले घटनास्थलमा रहेका ३० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका राज कार्की रहेका छन्। उनी जन्मदिनको कार्यक्रममा सहभागी हुन आइतबार राति घ्याम्पेडाँडा पुगेका थिए।

प्रहरीका अनुसार जन्मदिन मनाउन करिब ३० देखि ४० जना भेला भएका थिए। राति खानपिनका क्रममा सहभागीहरूबीच सामान्य भनाभन सुरु भएपछि विवाद चर्किएको र त्यसक्रममा कुटाकुट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कुटाकुटका क्रममा राज कार्की गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिए पनि मंगलबार उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल दुवाकोट अस्पतालमा राखिएको छ।

घटनाको वास्तविक कारण र कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीले घटनास्थलमा रहेका ३० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


















