काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार श्री सुमन आचार्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त हुनुभएको छ। उहाँले बिहीबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको बैंकले जनाएको छ।
बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा अनुभवी आचार्यले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा रहेर काम गरिसक्नुभएको छ। उहाँको नेतृत्वले बैंकको संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

पदभार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। साथै, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सरोकारवालाहरूले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
लुम्बिनी विकास बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको जनाएको छ।

हाल लुम्बिनी विकास बैंकले देशका सातै प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, गुणस्तरीय र ग्राहकमैत्री बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।


















