विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नो सांगठनिक गतिविधिलाई थप प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने उद्देश्यले कार्यसमितिका सदस्यहरूको कार्यविभाजन गर्दै विभिन्न विषयगत तथा सल्लाहकार समिति गठन गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्र राउतका अनुसार संगठनको कार्यसम्पादनलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउन सदस्यहरूलाई विषयगत समितिको सभापतिको जिम्मेवारी तोकिएको हो। साथै कार्यसमितिमा थप दुई जना आमन्त्रित सदस्य मनोनयन गरी सबै सदस्यको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरिएको उनले जानकारी दिए।

अध्यक्ष राउतले सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव, दक्षता र सुझावलाई महासंघको नीतिगत सुधार, निजी क्षेत्रको हित संरक्षण तथा आर्थिक विकासका गतिविधिमा प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले विभिन्न सल्लाहकार समिति पनि गठन गरिएको बताए।
महासंघले गठन गरेका समितिअन्तर्गत उद्योग–वाणिज्य परिषद्को सभापतिमा ऋषिराज तिम्सिना, वस्तुगत समन्वय समितिमा राजन श्रेष्ठ, रोजगारदाता परिषद्मा रविन दाहाल, बैंक, वित्तीय संस्था, बीमा तथा पुँजीबजार समितिमा सुवाष आचार्य, कर तथा राजस्व समितिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा भविषकुमार श्रेष्ठ तथा महिला उद्यम विकास समितिमा कृति श्रेष्ठ उपाध्यायलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी व्यापार मेला समितिको सभापतिमा कृष्णप्रसाद रिजाल, घरेलु तथा साना उद्योग समितिमा जयप्रकाश शर्मा, आयात–निर्यात समितिमा निर्मल भट्टराई, सामाजिक विकास समितिमा नवीन चौधरी, स्थल यातायात तथा पारवहन समितिमा मेघराज सिग्देल, सूचना तथा सञ्चार प्रविधि समितिमा विजय सन्तोषी राई, स्थानीय निकाय समन्वय समितिमा अंशु बन्जारा तथा स्वास्थ्य तथा सीप विकास समितिमा तरुण संचेतीलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ।


















