काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा रु ६ अर्ब ११ करोड कुल बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको दाबी गरेको छ। कम्पनीका अनुसार उक्त उपलब्धिले बीमाको पहुँच विस्तार, वित्तीय समावेशीकरण र आर्थिक जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको छ।
कम्पनीले स्थापनाकालदेखि नै बीमा पहुँच विस्तार, नवीन बीमा योजना विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। हाल शिखर इन्स्योरेन्सले देशभरका ७७ जिल्लामा रहेका १३१ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

कम्पनीका अनुसार यो उपलब्धिको आधार सुदृढ वित्तीय अवस्था, सक्षम व्यवस्थापन, दक्ष जनशक्ति, प्रभावकारी जोखिम व्यवस्थापन, छिटो दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यास हुन्। यिनै पक्षले कम्पनीलाई निर्जीवन बीमा क्षेत्रमा अग्रणी स्थानमा पुर्याएको दाबी गरिएको छ।
शिखर इन्स्योरेन्सले ग्राहक, अभिकर्ता, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नवीनता, सुशासन र उत्कृष्ट सेवामार्फत नेपालको बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।



















