काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य एक प्रतिशतभन्दा बढीले घटेको छ। पश्चिम एसियाको तनावका कारण महँगी बढ्ने र त्यसलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदर थप बढाउन सक्ने अपेक्षाले सुनको मूल्य दबाबमा परेको हो। यससँगै सुन सन् २००८ को अक्टोबरयताकै सबैभन्दा ठूलो मासिक गिरावटतर्फ अग्रसर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्पट सुनको मूल्य १.५ प्रतिशतले घटेर प्रतिऔंस ३,९५६.९२ अमेरिकी डलरमा झरेको छ भने अगस्ट महिनाको अमेरिकी सुन फ्युचर्स १.७ प्रतिशतले घटेर प्रतिऔंस ३,९६९.३० डलरमा कारोबार भएको छ। चालु महिनामा मात्रै सुनको मूल्य १२.७ प्रतिशतले घटिसकेको छ, जुन लगातार चौथो मासिक गिरावट हो। इरानसँगको युद्धका कारण ऊर्जा मूल्य बढेपछि महँगीको दबाब चुलिएको र त्यसले ब्याजदर वृद्धि हुने सम्भावना बलियो बनाएको विश्लेषण गरिएको छ।

कारेक्सका विश्लेषक एडवर्ड मेयरका अनुसार उच्च महँगी, ब्याजदर बढ्ने अपेक्षा र अमेरिकी डलरको मजबुतीले सुनको मूल्यलाई दबाबमा पारेको छ। सामान्यतया महँगीविरुद्ध सुरक्षित लगानी मानिने सुन उच्च ब्याजदरको वातावरणमा कम आकर्षक बन्ने भएकाले लगानीकर्ताहरू अन्य विकल्पतर्फ आकर्षित हुने गरेका छन्।
बजारले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यस वर्ष तीन पटकसम्म ब्याजदर बढाउन सक्ने अनुमान गरेको छ। सीएमई फेडवाच टुलका अनुसार आगामी सेप्टेम्बरमा ब्याजदर बढ्ने सम्भावना ६४ प्रतिशत रहेको छ। लगानीकर्ताहरू अहिले फेडको आगामी निर्णयको संकेतका रूपमा यसै साता सार्वजनिक हुने अमेरिकी जुन महिनाको एडीपी रोजगारी र ननफार्म पेरोल तथ्याङ्कको प्रतीक्षामा छन्। लगातार दोस्रो महिना अमेरिकी डलर मजबुत बन्दा अन्य मुद्राधारीका लागि सुन खरिद अझ महँगो बनेको छ।

यसैबीच, दोहामा हुन सक्ने भनिएको अमेरिका–इरान वार्ताप्रति पनि लगानीकर्ताको चासो रहेको छ, यद्यपि इरानले अहिलेसम्म कुनै औपचारिक बैठक तय नभएको जनाएको छ। सुनसँगै अन्य बहुमूल्य धातुको मूल्य पनि घटेको छ। स्पट चाँदी २ प्रतिशतले घटेर प्रतिऔंस ५७.१३ डलर, प्लाटिनम १.१ प्रतिशतले घटेर १,५५७.२१ डलर तथा प्यालेडियम ०.४ प्रतिशतले घटेर १,२०८.१७ डलरमा झरेका छन्। विश्लेषक मेयरले भने वर्षको दोस्रो छमाहीमा सुन प्रतिऔंस ३,५०० देखि ४,४०० डलरको दायराभित्र कारोबार हुन सक्ने अनुमान गरेका छन्।


















