काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाले विभिन्न मुलुकसँग संसदीय कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी, संस्थागत र सुदृढ बनाउने उद्देश्यले ४३ देशसँग संसदीय मैत्री समूह गठन गरेको छ। प्रत्येक मैत्री समूहमा एक जना संयोजक र विभिन्न राजनीतिक दलका प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई समावेश गरिएको छ।
गठन गरिएका संसदीय मैत्री समूहहरूमा अष्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, डेनमार्क, इजिप्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इजरायल, जापान, केन्या, कुवेत, मलेसिया, नर्वे, ओमान, पाकिस्तान, पोर्चुगल, कतार, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्विट्जरल्यान्ड, तान्जानिया, थाइल्यान्ड, टर्किए, संयुक्त अरब इमिरेट्स (यूएई), संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका (अमेरिका) र भियतनाम समावेश छन्।

मैत्री समूहका संयोजक तथा सदस्यहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न दलका सांसदहरूलाई प्रतिनिधित्व गराइएको छ। समूहमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको समेत सहभागिता सुनिश्चित गरिएको छ।
संसदीय मैत्री समूहहरूले नेपाल र सम्बन्धित देशबीच संसदीय अभ्यास, अनुभव आदान–प्रदान, कूटनीतिक सम्बन्ध विस्तार, द्विपक्षीय सहयोग अभिवृद्धि तथा आपसी हितका विषयमा संवाद र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। संसद्को संसदीय कूटनीतिलाई प्रभावकारी बनाउने उद्देश्यसहित गठन गरिएका यी समूहहरूले आगामी दिनमा अन्तरसंसदीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिनिधिसभाले गठन गरेका ४३ देशका संसदीय मैत्री समूहका संयोजक तथा सदस्यहरूको पूर्ण विवरण (नामावली) हेर्नका लागि तलको PDF हेर्नुहोस्।
https://drive.google.com/file/d/1olyOKVdmh-AgrzUhd47-P7irG_DpTWXu/view?usp=drivesdk


















