काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेलले विभिन्न व्यावसायिक स्वार्थसँग सम्बन्धित निर्णयमा प्रभाव पारेर करोडौँ रुपैयाँ लाभ लिएको आरोपसहित अनुसन्धान तीव्र बनाइएको छ।
अनुसन्धानमा संलग्न निकायका अनुसार हिमालयन रिइन्स्योरेन्स तथा सात वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिलाउन सघाएको र सुपारी आयातमा सहजीकरण गरेबापत उनले ठूलो आर्थिक लाभ लिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। विभागले बिचौलियाको प्रभावमा परेर पौडेलले ३० करोड रुपैयाँभन्दा बढी लाभ लिएको देखिएको जनाएको छ।

अनुसन्धानका क्रममा पौडेलसँग जोडिएको भनिएको थप सम्पत्तिको विवरण पनि फेला परेको छ। बुटवलमा सञ्चालनमा रहेको एक गाई फार्मको नाममा करिब ३५ बिघा जग्गा रहेको भेटिएको छ। उक्त जग्गा वास्तविक स्वामित्व लुकाउन एक सामान्य व्यक्तिको नाममा राखिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको स्रोतको दाबी छ।
यसैबीच मंगलबार सम्बन्धित विभागको टोली बुटवलस्थित उक्त फार्ममा पुगेर स्थलगत अध्ययन तथा आवश्यक कागजात संकलन गरेको छ। प्राप्त विवरणका आधारमा सम्पत्तिको स्रोत, स्वामित्व संरचना र आर्थिक कारोबारबारे थप अनुसन्धान अघि बढाइएको जनाइएको छ। सम्बन्धित निकायले अनुसन्धान जारी रहेकाले थप तथ्यहरू क्रमशः सार्वजनिक हुने बताएका छन्।



















