काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्य पदका उम्मेदवार साजन विक ले नेपाली समाजमा विद्यमान सामाजिक अन्तर्संघर्षहरू समाधान गर्न सक्ने नेतृत्व पार्टीको अग्रपंक्तिमा आउनुपर्ने बताएका छन्।
आगामी महाधिवेशनको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै विकले नेपालमा अझै पनि जातीय, वर्गीय, क्षेत्रीय तथा विभिन्न सामाजिक विभेदका कारण अनेकौँ अन्तर्संघर्षहरू विद्यमान रहेको उल्लेख गरे। यस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि समाजको वास्तविक अवस्था बुझ्ने, सबै समुदायलाई समेट्न सक्ने र संवादमार्फत साझा निष्कर्ष निकाल्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

विकले पार्टी सञ्चालनको मुख्य आधार नीति नै हुने उल्लेख गर्दै नीति स्पष्ट, व्यवहारिक र जनमुखी हुनुपर्नेमा जोड दिए। “पार्टी नीति अनुसार अघि बढ्छ, र जब त्यही नीति बोकेको पार्टी सरकारमा पुग्छ, त्यसले समग्र समाज र राष्ट्रको दिशा निर्धारण गर्छ,” उनले भने।
नीतिको सन्दर्भमा उनले उन्नत लोकतान्त्रिक समाजवाद नै वर्तमान समयको आवश्यकता रहेको धारणा व्यक्त गरे। उनका अनुसार समता, सहभागिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित नीतिले मात्र देशलाई समृद्धि र स्थायित्वतर्फ लैजान सक्छ।
“समतामूलक, सहभागितामूलक र लोकतान्त्रिक समाज निर्माणका लागि म निरन्तर संघर्षरत छु,” विकले भने, “पार्टीभित्र पनि यही सोच र दृष्टिकोणलाई संस्थागत गर्न मेरो उम्मेदवारी रहेको हो।”
उनले महाधिवेशनबाट सक्षम, दूरदर्शी र जनताप्रति उत्तरदायी नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै पार्टीलाई वैचारिक रूपमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी पनि यही उद्देश्यका साथ रहेको उनको भनाइ छ।










